मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। आइतबारसम्म क्यासिनो कम्पनीबाट रु ८१ करोड राजश्व सङ्कलन भएको पर्यटन विभागका अधिकृत खेमराज जोशीले बताए।

उनका अनुसार अन्य कम्पनीले पनि रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्। केही दिनमा अरू रकम पनि आउने उनले बताए।

केही साताअघि मन्त्री आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन्।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ। यसअघि मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएको थियो।

यता विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीन पुस्ते विवरण समेत सार्वजनिक गरेको छ। अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ।

फागुन ९, २०७८ सोमबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।