सप्तकोशी नगरपालिकाको भवन तोडफोड

सप्तरीः जिल्लाको सप्तकोशी नगरपालिकाको भवन तोडफोड गरिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो।
प्रदर्शनकारीहरू तालाबन्दी गर्न जाँदा सुरक्षा निकायले रोकेपछि नगरपालिका भवन तोडफोड गरिएको नगरप्रमुख उत्तम गौतमले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। गौतमका अनुसार कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका सामान तोडफोड गरिएको छ।
यस्तै जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीमाथि भौतिक चोट पुगेको भन्दै नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ।
प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए।
माग सम्बोधन नगरी नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ। नगर प्रमुख शर्माले भने आन्दोलनरत पक्षलाई वार्ताका लागि पटक–पटक बोलाए पनि नआएपछि नागरिक समाज र प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खुलाएको बताए।
फागुन ९, २०७८ सोमबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।