एमसिसीको पक्षमा मतदान नगर्ने भन्दै माधव नेपालले भने'सरकार जे हुन्छ, हुन्छ'

शनिवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले अहिलेकै अवस्थामा एमसिसी पास हुन नसक्ने तर संसद्मा लगेर छलफल गर्ने विषयमा बाधक नबन्ने निर्णय गरेको थियो। सोही अनुसार आज आइतबार सरकारले संसद्को बैठकमा एमसिसी सम्झौता टेबल गर्यो।
संसद् बैठक फागुन १२ गतेसम्म स्थगित भएपछि बाहिरिँदै गरेका एकीकृत समाजवादीका नेताहरूले आफूहरू एमसिसी पारित गर्ने पक्षमा नभएको दाबी गरे। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त एमसिसीको विपक्षमा सांसदमै नाराबाजी गरेका थिए।
संसद् बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार जे सुकै भए पनि आफूहरू एमसीसी अनुमोदन गर्ने पक्षमा नभएको दाबी गरे।
अहिले एमसीसी संसद्मा टेबल भए पनि पास गर्ने पक्षमा आफूहरू नरहेको बताएका थिए। एमसीसी जबरजस्ती पास गरिए सरकार के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकार जे हुन्छ, हुन्छ।’
यसै गरी एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी सम्झौताबारे आफ्नो पार्टीको धेरै असहमति रहेको दाबी गर्दै संसद्मा छलफल हुनुपर्ने मान्यता राखेर टेबल गर्ने दिने पक्षमा निर्णय भएको बताइन्।
एमसीसी टेबल भइसकेकाले यो संसद्को अभिन्न अङ्ग भएको भन्दै अब संसदभित्रै छलफल हुने उनले बताइन्।
फागुन ८, २०७८ आइतबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।