३२ महिनाको रडाकोबीच टेबल भयो एमसिसी, तर पारित हुने अझै निश्चित छैन

३२ महिनाको रडाकोबीच टेबल भयो एमसिसी, तर पारित हुने अझै निश्चित छैन

तर त्यो बेलामा तत्कालीन नेकपामा चर्किएको सङ्घर्षका कारण संसद् सचिवालयमा दर्ता भएर पनि अनुदान सम्बन्धी सम्झौता अगाडि बढ्न सकेन। तत्कालीन सभामुख कृष्णबहादुर महराले त्यसलाई रोकेको रोक्यै गरे।

तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा एमसिसी टेबल गराउन सकारात्मक नै भए पनि नेकपामा चर्किएको शक्ति सङ्घर्षले यसलाई अगाडि बढ्न दिएन। योबिचमा २ पटक संसद् विघटन भएर पनि सर्वोच्च अदालतबाट ब्युँतियो।

नेकपा तीन टुक्रा भएर एमाले, माओवादी केन्द्र अनि एकीकृत समाजवादी भयो। यो बिचमा सरकार बदलिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो जसमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सहभागी भए।

तै पनि एमसिसीको गाँठो भने खुलेन। माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिए पनि कांग्रेस कुनै हालतमा पनि एमसिसी संसद्मा लगेर त्यही छलफल गर्नेमा अडिग भएपछि गठबन्धनै सङ्कटमा पर्यो। अन्ततः २०७८ फागुन ८ गते संसद्मा औपचारिक रूपमा एमसिसी सम्झौता टेबल भयो।

संसद्मा टेबल भए पनि यो पारित हुने या नहुने निश्चित भइसकेको छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकै स्वरूपमा एमसिसी पारित गर्ने पक्षमा छैनन्। सरकारमा रहेको जनता समाजवादी पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

लोकतान्त्रिक समाजवादी पार्टी र एमालेले पनि आफ्ना धारणा सार्वजनिक गरिसकेका छैनन्। जनमोर्चा नेपाल अनि राप्रपाजस्ता साना दलहरू विपक्षमा छन्।

आइतबार एमसिसी टेबल हुँदा एमाले प्रक्रियामा सहभागी भएन। एमाले सांसद भीम रावल भने संसद्मा सहभागी थिए। उनले एमसिसी टेबल गर्न नहुने पक्षमा आफ्ना धारणा राखे पनि अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठकमा एमसिसी टेबल गरे।

अब एमसिसी सम्झौता औपचारिक रूपमा संसद्मा प्रवेश गरेको छ। यसले सडकमा भइरहेको बहस संसद्मा प्रवेश भएको छ। तर अझै यस विषयमा दलहरूबिचको शक्ति सङ्घर्ष भने जारी नै छ। सत्तामै रहेका प्रमुख २ दल विपक्षमा छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभए अब एमसिसी पारित गर्ने नगर्ने सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेससँगै प्रमुख प्रतिपक्षी दल एमाले, सरकारमा रहेको जसपा र प्रतिपक्षीमा रहेको लोसपाको निर्णयमा भर पर्ने देखिएको छ।

फागुन ८, २०७८ आइतबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।