जेलमा रहेकाहरूलाई छुटाउने भन्दै ३३ लाख ठगी गर्ने इटहरीका जसबहादुर पक्राउ

जेलमा रहेकाहरूलाई छुटाउने भन्दै ३३ लाख ठगी गर्ने इटहरीका जसबहादुर पक्राउ

इटहरीः कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकालाई छुटाउने भन्दै ठगी गर्ने इटहरीका जसबहादुर लिम्बू पक्राउ परेका छन्। लिम्बूले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका युवाहरूलाई छुटाउने भन्दै ३३ लाख लिएर फरार भएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी- २० का मन्दु भन्ने जसबहादुर लिम्बू पक्राउ परेका हुन्। लिम्बू र इटहरी- १२ का भरत चौधरीले तेह्रथुम कारागारमा थुनामा रहेका सुरेन्द्र पुरी र उनका भाइ बालकृष्ण पुरीलाई थुनामुक्त गराइदिने भन्दै ३३ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ।

दुवै फरार भएकोमा लिम्बू मात्र पक्राउ परेको प्रहरीले जनाएको छ। अर्का फरार आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

लिम्बू र चौधरीले तेह्रथुम कारागारमा रहेका सुरेन्द्रकी श्रीमती इटहरी-१२ खनार बस्ने तारा कार्की पुरीबाट रकम ठगी गरेका थिए। प्रहरी र न्यायाधीशसँग आफूहरूको राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका लिम्बूविरुद्ध ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको सुनसरी प्रहरीको भनाइ छ।

फागुन ८, २०७८ आइतबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।