एमसीसीसँगै अरू विधेयकहरू पनि टेबल गर्न गठबन्धन सहमत

एमसीसीसँगै अरू विधेयकहरू पनि टेबल गर्न गठबन्धन सहमत

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनको आज बसेको बैठकले एमसीसी संसद्मा टेबल गर्ने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ताधारी दलहरूबीच साझा धारणा बनाउँदै एमसीसी टेबल गर्ने सहमति गरेको हो।

एकीकृत समाजवादीका एक नेताले उकेरालाई एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिएका हुन्।

यस्तै एमसीसी टेबल गर्ने अजेण्डा आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा लैजाने पनि गठबन्धनले निष्कर्ष निकालेको छ। हालसम्म आजको संसद् बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८' प्रतिनिधि सभामा पेश गर्ने मात्र उल्लेख छ।

अन्य कार्यसूचीबारे निर्णय गर्न आजको परामर्श समितिको बैठक सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै बिहान साढे ११ बजेका लागि बोलाएका थिए।

यस्तै गठबन्धको बैठकले एमसीसीसँगै अरू विधेयकहरू पनि संसद्मा टेबल गर्ने सहमति गरेको छ।

यता प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध अझै हटिसकेको छैन। १४ सांसदसहित सभामुखको राजीनामालाई बटमलाइन बनाउँदै आएको एमालेको अडानका कारण पछिल्लो ५ महिना यता संसद् बैठक अवरुद्ध भएको भएकै छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सचिवालय भने आज पनि एमालेले अवरोध गरे उसैको लागि घाटा हुने बताएको छ।

फागुन ८, २०७८ आइतबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।