सर्लाहीमा सूचना प्रविधि प्रयोगशालामा आगजनी

सर्लाहीमा सूचना प्रविधि प्रयोगशालामा आगजनी

सर्लाहीः जिल्लाको बसबरिया गाउँपालिका–४ धनगढामा रहेको श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी भएको छ। ढोकाको ताल्चा फुटाएर अज्ञात समूहले शनिबार आगजनी गरेको हो।

आगजनीबाट २४ वटा कम्प्युटर जलेर क्षति भएका छन्। तीमध्ये सात वटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेकोे छ। आगजनी गर्ने समूहले केही थान मनिटरलगयत उपकरण समेत चोरेर लगेको प्रहरीले जनाएको छ।

यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो। साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा समेत चोरी हुँदा पनि विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयको आरोप छ।

प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो।

प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो। 

फागुन ८, २०७८ आइतबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।