थामिएन इन्धनको मूल्यवृद्धि : पेट्रोल पुग्यो १४५, डिजेल १२८

काठमाडौँ : इन्धनको मूल्य बढेकोमा जति विरोध भए पनि नेपाल आयल निगमले मूल्य बढाउने क्रम रोकेको छैन। हरेक पटक मूल्य बढाउँदा निगम अझै घाटामा छ भन्दै उसले इन्धनको मूल्य बढाउने गरेको छ।
शनिवार निगमले उसै गरी मूल्य बढाउँदै शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य १ सय ४५ कायम गरेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरेको छ।
ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमको विज्ञप्तिमा दाबी गरिएको छ। अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रु. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करिब २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको दाबी छ।
मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब २ अर्ब ४० करोडबाट करिब २५ करोडले घटी अझै करिब २ अर्ब १५ करोड घाटा यथावत् रहने निगमको दाबी छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करिब २४ अर्ब नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिद बापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाइ हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख छ।
फागुन ७, २०७८ शनिबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।