बाबुरामको सहयोगीको पहलमा आँखा चुनाव चिन्ह लिएर दर्ता भयो नयाँ दल

काठमाडौँ : जनता समाजवादी पार्टीमा विवाद बढ्दै गएपछि डा बाबुराम भट्टराइले आफ्ना सहयोगीको नाममा नयाँ दल दर्ता गराएका छन्। उनले नयाँ शक्ति पार्टी हुँदाको निर्वाचन चिन्ह आँखा दाबी गरेर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता गराएका हुन्।
नयाँ दलको पदाधिकारीमा परिचित अनुहार छैनन्। पार्टीको अध्यक्षमा दीपक लामिछाने छन्। उनी नुवाकोटका हुन्। उपाध्यक्षमा तनहुँकी रुपी श्रेष्ठ र सर्लाहीका लालबाबु प्रसाद साह छन्। महासचिवमा गोर्खाकी सृजना पोखरेलको नाम राखिएको छ।
जानकार स्रोतका अनुसार यो दल दर्ता गर्न बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिव रहेका फणीन्द्र देवकोटा आफैँ निर्वाचन आयोग गएका थिए।
दल दर्तालाई सहजीकरण गराउन बाबुराम पत्नी तथा जसपाकी नेतृ हिसिला यमी आफैँले निर्वाचन आयोगका आयुक्तलाई फोन गरेर सहयोग मागेको स्रोतको दाबी छ।
पार्टीलाई समावेशी बनाउन पहाड, मधेस र जनजातिबाट तीन अध्यक्ष बनाउनुपर्ने लगायतका प्रस्ताव अगाडि बढाएसँगै जसपामा भट्टराई र उपेन्द्र यादवपक्षविच पछिल्लो समय मनमुटाब बढिरहेको बेला हिसिलाकै सक्रियतामा नयाँ दल दर्ता हुँदा यी दुवै नेताबिचको विवाद उत्कर्षमा पुगेको देखिएको छ।
पछिल्लो समय राष्ट्रिय मुद्दाहरूमा यादवभन्दा भट्टराई नै हावीहुँदै गएका छन्। अमेरिकी सहयोग सम्झौता पारित गर्ने कि नगर्ने भन्नेमा समेत भट्टराई र यादवबिच एकमत हुन सकेको छैन। भट्टराई पारित गर्नुपर्ने पक्षमा छन् भने यादव संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा छन्।
नयाँ शक्तिको विकल्पमा नयाँ दल दर्ता भए पनि जसपामा एकीकृत भएसँगै आँखासँग जोडिएका सामाजिक सञ्जालहरू भने एक अनलाइन न्युज च्यानलको ह्यान्डलमा बदलिइसकेका छन्।
फागुन ७, २०७८ शनिबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।