६० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको दाबी गरेको छ। उसले कुल जनसङ्ख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।
शनिवार कोरोना सङ्क्रमणको अवस्थाबारे तथ्याङ्क सार्वजनिक गर्दै उसले २४ घण्टामा थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दियो।
खोप अभियान सुरु भएदेखि हालसम्म तीन करोड ६८ लाख ४८ हजारले खोप लगाएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ४ करोड ७८ लाख मात्रा खोप आएको छ।
सङ्क्रमण घट्दै
मन्त्रालयका अनुसार २४ घण्टामा थप तीन सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमुना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
२४ घण्टामा एक हजार दुई सय ७२ जना सङ्क्रमित निको भएका छन् भने थप चार जनाको सङ्क्रमणका कारण ज्यान गएको छ। अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।
फागुन ७, २०७८ शनिबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।