पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा : पोखरामा सम्पन्न १६ औँ सफल अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। पोखरा रङ्गशालामा शनिवार सम्पन्न म्याराथनमा निर्धारित दुरी २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्टेफेनले उपाधि जितेका हुन्।

नेपालमा पहिलो पटक सहभागिता जनाएका उनले उपाधिसँगै ४ लाख रुपैयाँ प्राप्त गरेका छन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन्। १५ औँ संस्करणमा जापानीज धावकले उपाधि जितेका थिए।

यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेन्डमा पुरा गर्दै कीर्तिमानी बनाएका थिए। जुन किर्तिमानलाई केन्याली धावकले तोडेका छन्।

खुल्ला तर्फको म्याराथनको दोस्रो पुरस्कार पनि केन्याली धावक सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेन्डमा पुरा गर्दै दुई लाख नगर राशिको पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरेका छन्। सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै चौथो स्थान हासिल गरेका छन्। पाँचौँ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेन्डमा पुरा गरेका थिए।

त्यसै गरी महिला तर्फको हाफ म्याराथनको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईँले उपाधि रक्षा गरेकी छन्। महिला तर्फको दोस्रो उपाधि सशस्त्र प्रहरी बलकी वृन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै हासिल गरेकी छन्।

त्यसै गरी जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थानमा जित हासिल गरेकी छन्।

म्याराथनको चौथो उपाधि भने बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै चौथो स्थानमा हात परेकी छन्।

खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना स्वरूप ३० हजार प्राप्त गरेका छन्। महिलातर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरूप १५ हजार नगद राशि प्राप्त गरेका छन्।
विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए ।

फागुन ७, २०७८ शनिबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।