प्रधानमन्त्रीले भने' नेपाली स्वतन्त्र देशको सार्वभौम नागरिक'

प्रधानमन्त्रीले भने' नेपाली स्वतन्त्र देशको सार्वभौम नागरिक'

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली स्वतन्त्र देशको सार्वभौम नागरिक भएको बताएका छन्।

अमेरिकी सहयोग परियोजनाबारे देशभित्रै विवाद बढेपछि चीन र अमेरिका समेत आमने-सामने भएको बेला उनले २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ को जनआन्दोलनको उपलब्धि सम्झँदै  राजनीतिक रूपमा देशले ठुलो फड्को मारेको र नेपाली स्वतन्त्र देशको सार्वभौम नागरिक भएको बताए।

७२ औँ प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताउँदै  यसका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए।

उनले वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताए।

देउवाले स्थानीय, प्रदेश र सङ्घीय तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन जोड दिएका थिए। २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको बताउँदै उनले अब यसलाई संस्थागत गर्दै समतामूलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।

फागुन ७, २०७८ शनिबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।