नक्कली सुनको गहना बेचेको आरोपीसँग भेटियो प्रेस कार्ड

नक्कली सुनको गहना बेचेको आरोपीसँग भेटियो प्रेस कार्ड

काठमाडौँ : नक्कली सुनको गहनालाई सक्कली हो भनेर झुक्क्याएर विक्री गरी ठगी गरेको आरोपमा प्रहरीले पङ्कजकुमार गुप्तालाई पक्राउ गरेको छ। काठमाडौँको बुढानीलकण्ठमा मान बहादुर मार्ग नजिकै रहेको बुद्धिलाल विकले सञ्चालन गरेको असीम सुन चाँदी पसलमा उनले नक्कली सुनलाई सक्कली भनेर बेच्न आएपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट २ वटा सुन जस्तै देखिने सिक्री बरामद गरेको छ। प्रहरीले उनको साथबाट प्रेस कार्ड समेत फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुसन्धानको उनले महाराजगञ्जस्थित अनन्त सुनारले सञ्चालन गरेको जय लक्ष्मी सुन चाँदी पसल र ललितपुर सातदोबाटोमा रहेको विनोद बिश्वकर्माले सञ्चालन गरेको ओम लक्ष्मी सुनचाँदी पसलमा एक-एक तोलाको पहेलो धातुको सिक्री बिक्री गरिसकेको खुलेको छ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ठगी आरोपमा अनुसन्धानका लागि शुक्रवार पाँच दिनको म्याद लिएको छ। प्रहरीले पछिल्लो समय काठमाडौँमा नक्कली सुनलाई सक्कली हो भनेर झुक्क्याएर ठगी गर्नेहरू बढेको जानकारी दिँदै सचेत हुन आग्रह समेत गरेको छ।

फागुन ६, २०७८ शुक्रबार २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।