प्रजातन्त्र दिवस पारेर पूर्व राजा ज्ञानेन्द्रले भने : अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय

प्रजातन्त्र दिवस पारेर पूर्व राजा ज्ञानेन्द्रले भने : अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय

काठमाडौँ : प्रजातन्त्र दिवसमा पारेर सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान शासन प्रणालीमाथि प्रश्न उठाएका छन्। उनले प्रजातान्त्रिक प्रणालीमाथि प्रश्न उठाउँदै राष्ट्रियताबिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुने उल्लेख गरेका छन्।

उनले सन्देशमा राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रहिरहने दाबी गरेका छन्। प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई सङ्कटापन्न अवस्थामा पुर्याएको दाबी गर्दै उनले सन्देशमा लेखेका छन्' जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ। यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्छ।’

उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान–अनुदान नरहेको भन्दै प्रजातान्त्रिक व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गरेका छन्।

‘अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन।’

प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने भन्दै उनले त्यो स्वतः स्फूर्त एवम् लोकसम्मत हुनुपर्ने उल्लेख गर्दै अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न रहेको बताए।

फागुन ६, २०७८ शुक्रबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।