प्रजातन्त्र दिवसमा ५०१ जनाको सजाय माफ, १२ जनालाई छुट

काठमाडौँ : सरकारको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच सय एक जना कैदी बन्दीको कैद सजाय माफ गरेकी छिन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदी बन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत पाँच सय एक कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हो।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएका १२ जनालाई कैद छुट दिइएको छ।
विज्ञप्ति अनुसार विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम आङनिमा शेर्पासमेतका १२ जनाको कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको छ।
दसैँ, लोकतन्त्र दिवस अनि प्रजातन्त्र दिवसजस्ता अवसर पारेर सरकारले विभिन्न अपराधमा कैद सजाय पाएर कारागारमा रहेकाको चालचलन, भुक्तान गरेको कैदको अवधि र कैदीको उमेरका आधारमा बाँकी सजाय माफी दिने गरेको छ।
तर पारदर्शिताको अभावमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूले समेत माफी पाउने गरेका छन्। कैद माफ भएकाहरूको विस्तृत विवरण सार्वजनिक नभएकाले यस पटक पनि पुरानै क्रम दोहोरियो या सुधार भयो यकिन भन्न सकिने आधार छैन।
फागुन ६, २०७८ शुक्रबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।