नेपालको एमसिसी विवादमा चीन र अमेरिकी अधिकारी आमने-सामने

काठमाडौँ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालमा भइरहेको विवादबारे चीन र अमेरिका आमनेसामने भएका छन्। नेपालका राजनीतिक दलहरूबिच एमसिसीलाई लिएर सहमति हुनेभन्दा विवाद बढिरहेको बेला चीनको परराष्ट्र प्रवक्ता र नेपालका लागि अमेरिकी राजदूतले टिप्पणी गरेका छन्।
शुक्रवार बेइजिङमा भएको पत्रकार सम्मेलन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कूटनीति सुरु गरेको भन्दै त्यसको प्रतिरोध गर्ने दाबी गरे।
यता नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ट्विट गर्दै एमसिसीको विरोधमा शुक्रवार कलङ्की क्षेत्रमा शङ्कास्पद विस्फोटक पदार्थ राखेको घटनाप्रति लक्षित गर्दै अमेरिका वाक तथा अभिव्क्ती स्वतन्त्रताको सधैँ सम्मान गर्ने तर हिंसाको सधैँ विरोध गर्ने लेखेका छन्।
यसले नेपालमा भइरहेको एमसिसी विवाद अब नेपालका राजनीतिक दलबिचको विवादको विषय मात्रै नभए विश्वव्यापी रूपमा बढ्दै गएको अमेरिका र चीनको प्रभाव राजनीतिसँग समेत गएर जोडिने जोखिम बढेको छ।
बेइजिङमा भएको पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने चेतावनी दिएको विषयबारे चीनको धारणाबारे जिज्ञासा राखेका थिए।
त्यसैको उत्तर दिने क्रममा उनले अमेरिकाले धम्की कूटनीतिक गरेको भन्दै चीनले प्रतिरोध गर्ने बताएका हुन्। उनले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्न सक्ने धारणा राखेका थिए। उनले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्न नेपाललाई चीनको समर्थन रहने बताएका थिए।
यता बेरीले ट्विट गर्दै एमसिसीबारे बोल्न पाउने स्वतन्त्रता र आम नागरिकबिच हुने तथ्यमा आधारित छलफलबारे अमेरिका बलियो समर्थक रहेको भन्दै नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो धारणा राख्न पार्नु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै हिंसा भने कहिल्यै स्वीकार्य हुन नसक्ने लेखेका छन्।
संसद्मा एमसिसी सम्झौता टेबल गर्ने सरकारले तयारी गरेसँगै त्यसको विरोधमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनमा सरकारमा रहेका २ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ सङ्गठनहरू संलग्न छन्। शुक्रवारै कलङ्कीको ढुङ्गे अड्डामा नो एमसिसी लेखेर प्रेसर कुकर राखिएको थियो। नेपाली सेनाको टोलीले त्यसलाई निष्क्रिय बनाउनेक्रममा सो नक्कली बम रहेको खुलेको थियो।
फागुन ६, २०७८ शुक्रबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।