एमाले-कांग्रेस नजिकिएसँगै छुट्टिने मुडमा प्रचण्ड

एमाले-कांग्रेस नजिकिएसँगै छुट्टिने मुडमा प्रचण्ड

काठमाडौँ : बिहीबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको भेटमा गठबन्धन भत्काउने र अमेरिकी सहयोग परियोजना पारित गर्ने सहमति भएको आशङ्कामा सत्ताका अन्य सहयोगी दल एकै ठाउँमा उभिएका छन्।

बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलको बैठक अगाडि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो। सो बैठकमा गठबन्धन तोडेर अगाडि बढ्न मानसिक रूपमा प्रधानमन्त्री देउवा तयार भइसकेको निष्कर्ष निकाल्दै यथास्थितिमा एमसिसी पारित गर्न नहुने पक्षमा उभिने सहमति गरे।

यस अगाडि जनता समाजवादी पार्टी एमसिसीको विपक्षमा उभिएको थिएन। बिहीबार पुष्पकलम दाहाल प्रचण्ड र माधव नेपालसँग समाजवादीका नेता राजेन्द्र श्रेष्ठले भेटेपछि उपेन्द्र यादव पनि विपक्षमा देखिए। एमसिसीबारे धेरै नबोल्ने उनी बिहिवारको बैठकमा सहमति नभई टेबल गर्न हुन्न भन्ने पक्षमा उभिएका थिए।

प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूलाई जानकारी दिएरै ओलीसँग भेट गर्न बालकोट गएका थिए। गठबन्धनको पक्षमा हो भने संसद् अवरोध खुलाउन र एमसिसीमा सहयोग माग्नुपर्नेमा सत्ता साझेदारीबारे छलफल भएको भन्दै अन्य दलका नेताहरू रिसाएको देखियो।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भइसकेको छ। बैठकमा सहमति नभए पनि प्रधानमन्त्री आज एमसिसी टेबल गर्ने पक्षमा छन्। बैठक अगाडि नै अन्य दलका नेता बैठक गरेर संशोधन नगरी एमसिसी अगाडि बढाउन नहुने निष्कर्ष निकाली सकेकाले गठबन्धन भत्कने जोखिम बढेको छ नै। संसद्मा टेबल गर्ने र मतदानबाट टुङ्ग्याउन सरकारमा रहेका अन्य दल सहमत नभए कांग्रेस र एमालेबिच सहकार्य हुने सम्भावना बलियो देखिन्छ।

फागुन ६, २०७८ शुक्रबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।