गठबन्धनको कांग्रेसइतर दलका नेताबीच एमसीसी यथास्थितिमा पास नगर्ने सहमति

काठमाडौंः सत्ता गठबन्धनका नेपाली कांग्रेसइतर दलका शीर्ष नेताहरूबीच बसेको बैठकले एमसीसी यथास्थितिमा पास नगर्ने सहमति गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा आज बिहान बसेको बैठकले यस्तो सहमति गरेको हो।
प्रचण्डसहित माओवादी नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित झलनाथ खनाल र जसपाका उपेन्द्र यादवसहित अशोककुमार राई संलग्न बैठकमा एमसीसी यथास्थितिमा पास गर्न नहुने सहमति भएको हो।
'अहिले उहाँहरू बालुवाटार गैसक्नुभयो। एमसीसी यथास्थितिमा संशोधनबिना पास गर्न हुँदैन भन्ने समान धारणा गठबन्धन बैठकमा राख्ने सहमति भएको छ', प्रचण्डको सचिवालयले भन्यो।
खुमलटारको बैठक सकेर नेताहरू हाल बालुवाटारमा सत्ता गठबन्धनको बैठकका लागि गइसकेका छन्। गठबन्धनको बैठकमा नेताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने बताइएको छ।
फागुन ६, २०७८ शुक्रबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।