प्रचण्ड र नारायणकाजीले विपक्षमा मत हाल्छौ भनेपछि रिसाए देउवा

प्रचण्ड र नारायणकाजीले विपक्षमा मत हाल्छौ भनेपछि रिसाए देउवा

काठमाडौँ : अमेरिकी सहयोग सम्झौता संशोधन नगरी संसद्मा टेबल भए विपक्षमा मतदान गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठको चेतावनी पछि प्रधानमन्त्री शेरबहादुर देउवा रिसाएर बालकोट गएको खुलेको छ।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले शुक्रवार संसद्मा टेबल गरौँ र छलफल अगाडि बढाएर १६ गतेभित्र पास गरौँ भनेर प्रस्ताव राखे पनि प्रचण्ड र नारायणकाजीले एमसिसी किन पास गर्नहुन्न भन्नेमै लागेपछि उनी रिसाउँदै'जे सुकै गर्नुस्। म टेबल गराउँछु भनेको बैठक स्रोतले बतायो।

माओवादीले सम्झौता संसद्मा पास गर्नुको कारण के हो भन्नेमै बढी केन्द्रित भएको थियो। सांसदबाट पारित गरे सम्झौता नेपालको कानुनभन्दा माथि हुने भन्दै उसले यसमा संशोधन हुनुपर्ने अडान लिएका थिए।

उनीहरूले संसद्मा प्रतिपक्षको अवरोध कायम रहेकाले अहिले यसलाई अगाडि बढाउनै हुन्न भन्दै निरन्तर विपक्षमा उभिएपछि देउवा 'अब सकिँदैन। विपक्षमा मतदान गरे पनि गर्नुस्। संसद्मा टेबल गरौँ' भनेका थिए।

बैठकमा देउवाले पछिल्लो समय माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूबाट समेत आफूले सहयोग नपाएको गुनासो गरेका थिए। उनी बढी अर्थमन्त्री जनार्दन शर्माप्रति केन्द्रित देखिएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फागुन ७ मा पार्टीको बैठक भएकाले त्यहीबाट धारणा बनाउने बताएका थिए। उनले सहमतिको आधारमा अगाडि बढ्दा राम्रो हुने बताए।

बैठकमा एकै दलबाट भिन्न-भिन्न नेताहरू पनि सहभागी थिए। एकै पार्टीका २ नेताले बोल्दा फरक-फरक धारणा देखिए पनि। जनता समाजवादीका नेता डा बाबुराम भट्टराई एमसिसी पास गर्नेबारे प्रधानमन्त्री देउवा निकट देखिए। त्यही दलका नेता तथा मन्त्री राजेन्द्र श्रेष्ठ सहमति गर्नुपर्छ भन्दै प्रचण्ड निकट देखिए।

जनमोर्चा नेपाल त एमसिसीको विरोधमा सडक आन्दोलमै आइसकेकाले उ बैठकमै गएन।

बैठक समाधानको साटो विवाद तिरै केन्द्रित भएपछि भोलि बसौँ भन्दै बैठक टुङ्गियो। नेताहरू बालुवाटारबाट निस्किएर घरतिर लागे। प्रधानमन्त्री देउवा पनि निस्किएर बालकोटतिर लागे।

फागुन ६, २०७८ शुक्रबार ००:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।