बालकोटमा देउवा-ओलीको डेढ घण्टा : धरापमा गठबन्धन

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटमा रहेको घरमा डेढ घण्टा बसेर बालुवाटार फर्किएका छन्।
एमसिसीबारे गठबन्धन दलमा सहमति हुन नसकेपछि उनी श्रीमती आरजु राणालाई लिएर बालकोट गएका थिए। साढे ८ बजेतिर बालकोट पुगेका उनी १० बजेतिर बालुवाटार फर्किएका थिए।
देउवा बालुवाटार पुगेपछि एमालेका केही नेता पनि बालुवाटार पुगेका थिए। एमसिसीबारे माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ नदिने देखिएपछि बिहीबार बिहानबाट कांग्रेसका नेताहरू ओलीको सम्पर्कमा थिए।
कांग्रेस नेता मीनेन्द्र रिजाल बालकोटै पुगेर ओलीसँग छलफल गरेका थिए। देउवाका विश्वासपात्र तथा सन्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ओलीसँग मोबाइलमा कुरा गरेका थिए।
शुक्रवार संसद्मा एमसिसी टेबल गर्न सरकारले तयारी गर्नु, सत्ता घटकबिच सहमति नहुनु र एकाएक देउवा बालकोट पुगेर ओलीसँग डेढ घण्टा छलफल गर्नुले सत्ता समीकरण बदलिने सङ्केत देखिएको छ। यस अगाडि नै एमालेले केन्द्रमा सहभागी नहुने, प्रदेशमा संयुक्त सरकार बनाउने, सभामुखलाई महाअभियोग लगाउने र एमसिसी पास गर्नेबारे छलफल थियो।
बिहीबार बेलुकाको भेट यसैमा केन्द्रित भएको हुनसक्छ। देउवाले ओलीलाई १३ मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गरेको अपुष्ट सूचना समेत बाहिरिएको छ। तर दुवै नेताको सचिवालयले यसको पुष्टि गरेन।
फागुन ५, २०७८ बिहीबार २३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।