ओलीको बैठक कोठामा आरजु चप्पल खोलेर गइन, देउवाले जुत्ता खोलेनन्

ओलीको बैठक कोठामा आरजु चप्पल खोलेर गइन, देउवाले जुत्ता खोलेनन्

काठमाडौँ : एमसिसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको दलको बैठकमा सहमति हुन नसकेपछि रन्किँदै बालुवाटारबाट निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे।

उनी एक्लै थिएनन्। श्रीमती आरजु राणा समेत सँगै थिइन् बालकोटमा। बैठक कोठाको बिचमा ओली बसे। अगाडिको दायाँ-बायाँ सोफामा देउवा र आरजु बसे।

ओलीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा आरजु गेरु रङ्गको कुर्ता सुरुवालमा देखिन्छिन्। देउवा खैरो कोट र निलो सर्टमा छन्।

आरजुको खुट्टा रित्तो छ। तर देउवाले खौरो जुत्ता खोलेका छैनन् बैठक कोठामा। अगाडि कालो चिया र प्लेटमा बिस्कुट राखिएको छ। प्रधानमन्त्रीको जोडिलाई ओलीले गुलियो चिया र बिस्कुटले स्वागत त गरे तर दुवै जनाको वार्ता मीठो भयो भएन खुलेको छैन।

एमाले वर्तमान गठबन्धन भत्काउन चाहन्छ। देउवा कुनै हालतमा एमसिसी पास गर्न चाहन्छन्। गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतालाई एमसिसी चुनाव अगाडि टार्न एकपछि अर्को सर्त थपिरहेका छन्।

देउवा शुक्रवार एमसिसी संसद्मा टेबल गर्न चाहन्छन्। तर बिहीबार पनि सहमति भएन। सहमति नभएपछि शुक्रवार १० बजे पुन बैठक राखिएको छ। तर आफ्नै पार्टीभित्र प्रेसरमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहमत हुने देखिन्न। तर अब कांग्रेस गठबन्धन टुटे पनि एमसिसी संसदबाटै टुङ्गो लगाउने मुडमा छ। यो अवस्थामा एमाले र कांग्रेसविच नयाँ समीकरण हुने सम्भावना बलियो बन्दै गएको शुक्रवार बेलुकाको अपर्झट देउवा-ओली भेटले पनि देखाएको छ।

फागुन ५, २०७८ बिहीबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।