आफ्नाको बढुवाका लागि प्रहरीमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ : सरकारले नेपाल प्रहरीमा रहेको एआइजीको ६ दरबन्दी बढाएर नौ पुर्याएको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।
प्रहरीमा अहिले जनपदतर्फ पाँच र प्राविधिकतर्फ एक एआइजीको दरबन्दी छ। यस अगाडि तीन एआइजी मात्र रहेकोमा पटक-पटक गरेर पाँच पूर्याइएको थियो। केपी ओली नृतत्वको सरकारले विश्वराज पोखरेलको बढुवाका लागि एक एआइजीको एक पद थप्यो।
पछि आफ्नो पार्टीप्रति झुकाव राख्ने सहकुल थापालाई बढुवा गर्न एआइजीको एक पद बढाएका थिए। थापाको बढुवासँगै एमाले नेतृत्वको सरकार ढलेपछि थापाको पदस्थापन हुन २ महिना लागेको थियो।
सरकार बदलिएसँगै थापाको ब्याचका अन्य डिआइजीहरू पद बढाउन सक्रिय भएका थिए। उनीहरूकै सक्रियतामा गृह मन्त्रालयले तीन एआइजीको दरबन्दी थप गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा बिहीबार सरकारले निर्णय गरेको हो।
फागुन ५, २०७८ बिहीबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।