सरकार छाडे पनि एमसिसी संसद्मा जाने देउवाको सन्देशपछि तनावमा प्रचण्ड

सरकार छाडे पनि एमसिसी संसद्मा जाने देउवाको सन्देशपछि तनावमा प्रचण्ड

काठमाडौँ : अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू छलफलमा जुट्दै छन्। ५ बजे हुने सो छलफलबाट एमसिसीमा सत्ता साझेदारले के गर्ने र माओवादी केन्द्रले सरकार छाड्ने वा नछाड्ने विषयमा वारपार हुनेछ। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढेको छ।

बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरे। बालुवाटारमा देउवाले सरकार छाड्ने भए छाड्नुस् तर एमसिसी अघि बढ्छ भन्ने सन्देश लिएर बाहिरिएका प्रचण्ड अन्य सत्ता साझेदार दलहरूसँग छलफलमा जुटेका हुन्।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रचण्ड, नेपाल र श्रेष्ठबिच छलफल भएको थियो। छलफलपछि शीर्ष नेताहरूले कुनै प्रतिक्रिया दिन चाहेका छैनन्। कुराकानीपछि एमसिसीबारे तपाईँको धारणा एउटै छ कि फरक फरक छ ? भन्ने जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘भरे ५ बजे छलफल हुन्छ।’ बैठकपछि बिच बाटोमा भेटिएका अध्यक्ष नेपाललाई बैठकमा के छलफल भयो भन्ने प्रश्न राखियो उनले भने, ‘यो बाटो बाटोमा नसोधौँ।’

‘हामी आजको ५ बजेको छलफलको तयारीमा लागेका छौँ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने। तीन दलको एकमत हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘तीन दललाई एकमत बनाउने भनेर लागेकै छैनौ। पाँचै दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निचोड दिने भनेर लागेका छौँ।’

सरकार छाड्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने, ‘५ बजेको बैठकमा निचोड दिन्छौँ, जोडचाहिँ सकेसम्म गठबन्धन बचाउनेमा छ।’

फागुन ५, २०७८ बिहीबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।