प्रचण्ड र नेपाल राजी नभए एमसिसी पारित गर्नेसहितको चार सर्तमा कांग्रेस-एमाले सहकार्यको तयारी

प्रचण्ड र नेपाल राजी नभए एमसिसी पारित गर्नेसहितको चार सर्तमा कांग्रेस-एमाले सहकार्यको तयारी

काठमाडौँ : एमसिसीबारे माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले दोहोरो चरित्र देखाएको भन्दै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता साझेदारीसहितको प्रस्तावमा छलफल अगाडि बढाएको छ।

प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेमा एमसिसी पारित गर्ने उनीहरूको सर्त स्विकारे पनि महाअभियोग दर्तापछि भने वचन तोडेको भन्दै जनता समाजवादी पार्टीसहित तीन दल मिलेर अगाडि बढ्न कांग्रेसले छलफल अगाडि बढाएको हो।

कांग्रेस र एमालेबिच भइरहेको छलफलबारे जानकार स्रोतका अनुसार सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने सर्तमा एमाले सहकार्यका लागि सकारात्मक छ। दुवै दलबिच केन्द्रमा एमाले सरकार बाहिरै बसेर समर्थन गर्ने, प्रदेशमा भने संयुक्त सरकार बनाउने, एमसिसी प्रस्ताव पारित गर्ने तर यसका लागि सभामुख अग्नि सापकोटालाई महाअभियोग दर्ता गर्ने सर्तहरूमा छलफल चलिरहेको छ।

कांग्रेसले एमालेसहित केन्द्रदेखि प्रदेशमा सरकार गठन गर्न प्रस्ताव गरे पनि एमाले तयार देखिएको छैन। उसले चुनावी सरकारलाई एमालेले समर्थन मात्र गर्न सक्ने बरु प्रदेशमा भने संयुक्त सरकार बनाउने र बढाइएका मन्त्रालयहरूको सङ्ख्या घटाउने विषयमा सहमति जनाएको छ।

एमसिसी पारित गर्ने हो भने सभामुखलाई महाअभियोग लगाउनुको विकल्प नरहेको र यसमा जनता समाजवादी पार्टी समेत सकारात्मक देखिएको जानकारस्रोतले उकेरालाई बतायो। आज बस्ने सत्ता गठबन्धनको बैठकमा एमसिसी पारित गर्ने माहौल नबने कांग्रेस र एमालेबिच सहकार्य हुने सम्भावना बलियो देखिन्छ।

' प्रचण्डजीलाई सभामुख सापकोटाले अप्ठ्यारी पारेकाले उहाँ ब्याक भएको हाम्रो बुझाई छ,' कांग्रेसका एक नेताले भने' सत्ता सहयात्रामा रहेका अन्य दललाई कांग्रेसले मात्र सहजीकरण गर्दै समस्या सुल्झाइदिनुपर्छ भन्ने केही छैन। एमसिसीको पक्षमा उहाँहरू नआए अहिलेको गठबन्धन तोडिने निश्चित छ।'

फागुन ५, २०७८ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।