कांग्रेसलाई नराखी सरकारका सहयोगी दलका नेता छलफलमा

काठमाडौँ : सरकारका सहयोगी तीन दलका नेताहरूले प्रमुख दल नेपाली कांग्रेसका नेतालाई नराखी छलफल गरेका छन्। अमेरिकी सहयोग परियोजनामा सत्ताधारी दलहरूबिचमा एकमत बन्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैठक राखेका छन्।
बैठक अगाडि सत्तारुढ गठबन्धनका सहयोगी दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू मात्र बसेर छलफल गरेका हुन्।
सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।
जनता समाजवादीले एमसिसीबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन। सोही दलका नेता डा बाबुराम भट्टराई भने एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्। केन्द्र र एकीकृत समाजवादी भने विपक्षमा छन्।
प्रधानमन्त्री देउवा संसद्मा एमसिसी टेबल गर्ने तयारीमा छन्। बुधबारनै टेबल गर्ने प्रयास गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन मागेपछि ६ गते शुक्रवार टेबल गर्ने सरकारको तयारी छ। यही बेला सरकारका सहयोगी तीन दलका नेताहरू अलग छलफलमा जुट्नुले उनीहरू कांग्रेसविना नै रणनीति निर्माणको प्रयासमा लागेको देखिएको छ।
फागुन ५, २०७८ बिहीबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।