सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौंः मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो।
यसअघि हिजै सरकारले संसद्मा एमसीसी टेबल गर्ने तयारी गरे पनि सत्ता घटक माओवादी केन्द्रले विरोध गरेपछि सरकार ब्याक भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच हिजो संसद्मा एमसीसी टेबल नगर्ने र आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो। सोहीअनुरूप आज गठबन्धनका अन्य नेताहरू पनि सहभागी भई छलफल हुने भएको हो।
माओवादी केन्द्रले प्रधानमन्त्रीको जोडबलमा जबर्जस्ती एमसीसी संसद्मा पेश गरे सरकार छाड्ने चेतावनी दिँदै आएको छ। माओवादीले एमसीसी संशोधनसहित पास गर्नुपर्ने धारणा अघि सारिरहँदा नेपाली कांग्रेस भने जस्ताको त्यस्तै पारित गर्न तयार छ।
आजको बैठकले एमसीसी संसद्मा पेश गर्ने वा नगर्नेबारे निर्णय गर्ने बताइएको छ।
हिजो माओवादीको भातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले नयाँ वानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन पनि गरेको थियो। यस्तै नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेले पनि विरोध प्रदर्शन गरेका थिए।
फागुन ५, २०७८ बिहीबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।