पशुपति क्षेत्रमा शिवका मूर्ति तथा देवीदेवताका चित्र बनाउन मन्त्री आलेको निर्देशन

पशुपति क्षेत्रमा शिवका मूर्ति तथा देवीदेवताका चित्र बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिअगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र बनाउन निर्देशन दिएका छन्। बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण गर्दै मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन्।

उनले भने, “महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला।” उनले पशुपति क्षेत्रमा जताततै फोहर भएको र पर्खाल वरिपरि दिसा, पिसाबले भरिएको भन्दै पर्खालहरू सफा गरेर भगवान्का चित्र बनाउन निर्देशन दिएका हुन्।

यस्तै आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिए।  

यता पशुपति विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताए।

फागुन ५, २०७८ बिहीबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।