एमसीसी प्रकरणमा संसद् बैठकपछि बाझियो कांग्रेस र समाजवादीको धारणा

काठमाडौंः सरकारले फागुन ६ गते शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ। आजको संसद् बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकमा एमसीसी टेबल गरिने जानकारी दिएका हुन्।
बुधबारको संसद् बैठकबाट बाहिरिने क्रममा बडूले दुई दिन सहमतिको प्रयास गर्ने र आउँदो बैठकमा टेबल गर्ने सहमति भएको बताए। 'दुई दिन समय बाँकी छ। सहमतिका लागि हामीले प्रयास गर्ने भएका छौँ। ६ गते सहमतिमै पेश गर्ने हाम्रो तयारी छ', उनले भने।
'सहमति नभए के हुन्छ त', भन्ने प्रश्नमा मन्त्री बडूले नकारात्मक कुरा गर्न अहिले जरुरी नभएको बताएका थिए।
'सहमतिमै पेश गर्छौँ भन्ने छ अरू नकारात्मक कुरा नगरौँ। तर ६ गते टेबल हुन्छ। भएन भने के हुन्छ भनेर प्रश्न अहिले नगरौँ', उनले भने।
उता नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्य झलनाथ खनालले एमसीसी पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन्। बुधबारको संसद् बैठकपछि खनालले भने, 'असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन, धाकधम्की दिएर हुँदैन।'
उनले एमसीसीका विषयमा असहमति भएको विषयमा गठबन्धन दल, सडक र सदनमा पनि विरोध हुने प्रष्ट पारेका छन्।
फागुन ४, २०७८ बुधबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।