एमालेले आज पनि संसद्मा अवरोध गर्ने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गर्ने भएका छन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।
'संसद् अवरोध कायम रहन्छ। हामीसँग कसैले कुरा गरेको छैन, हाम्रो माग यथावत् छ। परिस्थितिमा केही फेरबदल आएको छैन', एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने।
एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसद (हाल नेकपा एकीकृत समाजवादीमा रहेका)लाई बैठकमा प्रवेश गर्न दिन नहुनेलगायत एमालेको माग छ।
एमालेले पार्टी विभाजनमा सहयोग गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पनि माग गर्दै आएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि टेबल हुन सक्नेछ। यद्यपि, बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन। संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। बैठकले कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ।
'थप कुरा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि गरौंला। त्यहाँबाट परिस्थिति परिपक्व बन्छ', ज्ञवालीले भने।
फागुन ४, २०७८ बुधबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।