भोलिको संसद् बैठकमा एमसीसी टेबल गर्नेमा कांग्रेसभित्र एकमत, ब्रिफिङ गर्न पुगे महत

महतले एमसीसीको बारेमा पार्टी कार्यसम्पादन समितिको बैठकमा समेत ब्रिफिङ गर्दै आएका छन्।
यता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको सर्वदलीय बैठकमा एमसीसी संसद्मा पेश गर्न प्रस्ताव गरिसकेका छन्। संसदीय दलको बैठक चलिरहँदा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेका छन्।
‘एमसीसी अनुदान हो नेपालको लागि दीर्घकालीन सहयोग गराउँछ। कुनै पनि विकास सहयोग लिन्न भन्दा हास्यास्पद हुन्छ’, कांग्रेस नेत्री सुजाता कोइरालाले भनिन्। भोलिको संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन्।
‘ढिला गर्नु हुँदैन। मलाई लाग्छ भोलि टेबल हुन्छ’, कोइरालाले भनिन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताए। बैठकबाट बाहिरिने क्रममा सांसद शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा त्यही विषयमा छलफल भएको जानकारी दिए।
‘बैठकमा एमसीसी पास गर्नेबारे छलफल भयो। सबैले एमसीसी पास गरौँ भन्नुभएको छ,’ उनले भने।
बैठकमा पूर्वअर्थमन्त्री महतले एमसीसी राष्ट्रहितमा रहेको ब्रिफिङ गरेका थिए। ‘अहिलेसम्म धेरै वटा देशहरूमा एमसीसी चलिरहेको छ। ती देशहरूमा न अमेरिकी सेना पुगेका छन्, न कुनै हस्तक्षेप भएको छ,’ बैठकमा महतले भनेका थिए, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ।’
महतले कांग्रेसले एमसीसीबारे फैलाइएका भ्रमहरू चिर्न सक्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रतिबद्धता जनाइसकेका छन्। त्यसका लागि अब डेढ हप्ता मात्रै बाँकी छ।
मंगलबार बिहान प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। भेटमा एमसीसी टेबल गर्ने र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध लागेको महाअभियोगको बारेमा कुरा भएको थियो।
भेटमा बुधबारकोे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटक सकारात्मक देखिएका छन्। तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही द्विविधाहरू बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै रहने प्रयास रहने प्रचण्डको सचिवालयले जनाएको छ।
फागुन ३, २०७८ मंगलबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।