प्रधानन्यायाधीशमाथिको महाअभियोगमा नरम देखियो एमाले, राणालाई नबोक्ने तर प्रतिवाद गर्ने

प्रधानन्यायाधीशमाथिको महाअभियोगमा नरम देखियो एमाले, राणालाई नबोक्ने तर प्रतिवाद गर्ने

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग दर्ता भएसँगै रिसाएका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार अलि मत्थर देखिए। सत्ता गठबन्धनमा रहेका दलले आइतबार एक्कासि महाअभियोग दर्ता गरेपछि कडा टिप्पणी गर्दै राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएका ओली सोमबार नरम देखिए।

पार्टीको संसदीय दलको बैठकमा उनले एमाले राणा बचाउने पक्षमा नभएको बताउँदै समय र जुन रूपमा सत्ता गठबन्धनका सांसदले छापामार शैलीमा महाअभियोग दर्ता गरे त्यो प्रवृत्तिको विरोध गरेको बताएका थिए।

बैठकमा ओलीले एमसिसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव दर्ता भएको बताएको बताएको एमाले सचेतक विशाल भट्टराइले बताए।

बैठकमा उनले प्रधानन्यायाधीश राणाको टन्नै कमजोरीहरू देखिएको भन्दै एमाले उनलाई बोकेर हिँड्ने पक्षमा भने नभएको बताएका थिए। उनले बैठकमा गलत नियतका साथ महाअभियोग आएकाले पार्टीले राजनीतिक रूपमा त्यसको प्रतिवाद गर्ने बताएको भट्टराइले जानकारी दिए।

निर्वाचनलाई जसरी पनि सार्ने, एमसिसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गर्ने लक्ष्यले महाअभियोग आएको बैठकले निष्कर्ष निकालेको भट्टराईले बताए।

फागुन २, २०७८ सोमबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।