एमालेले चार न्यायाधीश विरुद्ध महाभियोग नल्याउने, संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावबारे निर्णय लिन एमालेले संसदीय दलको बैठक बोलाएको हो।
महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ। आइतबार बसेको एमाले सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।
सत्तारुढ दलले प्रधानन्यायाधीश विरुद्ध ल्याएको महाभियोगको काउन्टर स्वरुप एमालेले पनि चार जना न्यायाधीश विरुद्ध महाभियोग ल्याउने चर्चा चलिरहेको छ।
तर, आफ्नो पार्टीले कसैमाथि महाभियोग ल्याउने तयारी नगरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए। उनले भने, 'चार न्यायाधीश विरुद्ध महाभियोग आउँदैन। हामी सबै भत्काउने पक्षमा छैनौं।'
संसदीय दलको बैठकमा सांसदहरुको हस्ताक्षर भने संकलन गरेर राखिने उनले बताए। तामाङले भने, 'चार न्यायाधीश विरुद्ध महाभियोगमा नजाने वातावरण आज बिहानबाट बन्दै गएको छ। हिजो तात्तातो थियो र एउटा कुरा थियो। आज बेकारमा किन महाअभियोग? भन्ने वातावरण बन्दै गएको छ।'
एमालेका बैठकमा उपस्थित भएका सांसदहरुलाई ६ वटा खाली कागजमा हस्ताक्षर गर्न लगाएको एक पदाधिकारीले बताए।
एमसिसीबारे भने आफूहरु मौन बस्ने एमाले नेता तामाङ बताए। उनले भने, 'हामीले पहिले पनि संशोधनविना संसद्मा लैजाऔं भनेका थिएनौँ। त्यसकारण हामी टेबुल हुँदा पनि मौन बस्छौ। समर्थन गर्दैनौं।'
फागुन २, २०७८ सोमबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।