सत्ता स्वार्थको प्रपञ्चमा प्रधानन्यायाधीशमाथि महाअभियोग : कमल थापा

सत्ता स्वार्थको प्रपञ्चमा प्रधानन्यायाधीशमाथि महाअभियोग : कमल थापा

काठमाडौँ : आइतबार मात्र राप्रपा नेपाल ब्युँताएका कमल थापाले सरकारमा रहेका तीन दलको स्वार्थमा प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता भएको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको स्वार्थमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग दर्ता भएको दाबी गरेका हुन्।

अमेरिकी परियोजना पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुख अग्निप्रसाद सापकोटालाई जोगाउने माओवादी स्वार्थ र एकीकृत समाजवादीको सांसद पद जोगाउने स्वार्थमा प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता भएको थापाले दाबी गरेका छन्।

थापाले लेखेका छन्, 'प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले : mcc पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।'

आइतबार एकाएक प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। 

फागुन २, २०७८ सोमबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।