आज प्रेम दिवस

काठमाडौंः विश्वभर आज भ्यालेन्टाइन्स डे मनाइँदै छ। फेब्रुअरी १४ तारिखका दिन मनाइने यस दिनलाई प्रेम दिवसका रूपमा चिनिन्छ।
प्रेमी-प्रेमिकाहरू एकाअर्कासँग प्रेम व्यक्त गर्ने र साटासाट गर्ने दिनको रूपमा यसलाई मनाउँदै आइएको छ।
यद्यपि प्रेम दिवसको सुरुआत भने सन् २६९ मा भएको विश्वास गरिन्छ। प्रचीन रोमका तत्कालीन सम्राट क्लाउडियस द्वितीय प्रेम र विवाहको खिलाप थिए। उनी यस्ता कुराले सैनिकहरू कमजोर हुन्छन् भन्ने विश्वास गर्थे। तर रोमका पादरी सन्त भ्यालेन्टाइन भने सम्राटको सोचको विरुद्धमा थिए। उनले एक सैनिकको विवाह गराइदिए।
यसको बदलामा क्लाउडियसले उनलाई पक्रेर मृत्युदण्डको सजाय सुनाए। उनलाई जेलमा राखे। जेलमै रहँदा जेलरकी छोरीसँग उनको प्रेम भयो। ती युवती दृष्टिविहीन थिइन्। र मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले 'लभ फ्रम योर भ्यालेन्टाइन' भन्ने हस्ताक्षरसहितको प्रेम पत्र ती युवतीलाई दिए। सँगै आफ्ना आँखा पनि ती युवतीलाई दिए। जसका कारण उनको दृष्टि फर्कियो।
सन् २६९ को फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। भ्यालेन्टाइनले प्रेमका लागि गरेको यो त्याग नै प्रेम दिवसको रूपमा मनाउने गरिएको हो।
फागुन २, २०७८ सोमबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।