एमालेको ठहर: महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको षड्यन्त्रपूर्ण कदम, प्रतिवाद गर्ने

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव लोकतन्त्रमाथिको षड्यन्त्रपूर्ण कदम भएको बताएका छन्। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै पोखरेलले यस्तो बताएका हुन्।
उनले भने, “एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ।”
सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै उनले भने, “आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ।”
उनले एमालेले महाभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने पनि बताए। यस्तै सोमबार बस्ने एमालेको संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्त्वपूर्ण निर्णय गर्ने उनले प्रष्ट पारे।
फागुन १, २०७८ आइतबार २२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।