चिनियाँ नागरिक लीले अण्डरवेयरमा लुकाएर ल्याए चार करोडको सुन

चिनियाँ नागरिक लीले अण्डरवेयरमा लुकाएर ल्याए चार करोडको सुन

काठमाडौंः चिनियाँ नागरिक झाङ लीले आफैंले लगाएको भित्री कपडामा फल्स बटम बनाएर चार करोड बराबरको सुन तस्करी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई शनिबार पक्राउ गरिएको थियो।

भन्सार जाँच पास गरेर अघि बढिसकेका ३६ वर्षीय लीको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो। सो क्रममा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी अण्डरवेयरभित्र फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो। 

बरामद सुन अर्ध ठोस अवस्थाको छ। पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अन्य तीन गरी जम्मा चार पोका सुन बरामद भएको छ। सबै सुन चार किलो ८४० ग्रामको छ।

यसमा ९८ दशमलव ६६ प्रतिशत सुन रहेको परीक्षणमा पत्ता लागेको छ। यसको बजार मूल्य झण्डै रु चार करोडको छ।

उनलाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। 

फागुन १, २०७८ आइतबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।