बुटवलमा मूर्तिकला कार्यशाला सुरु, कला, संस्कृति र इतिहास झल्किने मूर्तिहरू बनाइने

बुटवलमा मूर्तिकला कार्यशाला सुरु, कला, संस्कृति र इतिहास झल्किने मूर्तिहरू बनाइने

बुटवलः बुटवलमा मूर्तिकला कार्यशाला सुरु भएको छ। ढुंगामा आकर्षक मूर्ति कुँदेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको आयोजनामा मूर्तिकला कार्यशाला सुरु भएको हो।

कार्यशाला फागुन १६ गतेसम्म चल्नेछ। उद्यान संरक्षण समितिले फूलबारी क्षेत्रमा मुनामदन उद्यान निर्माण गरेको छ। त्यही उद्यानमा ललितकला प्रज्ञाप्रतिष्ठान काठमाडौंका विद्यार्थीहरूले ढुंगामा मूर्ति कुद्नेछन्।

समितिका अध्यक्ष खेमप्रसाद लुईँटेलले मूर्तिकला कार्यशाला सम्पन्न भएपछि फूलबारीमा थप पर्यटन प्रवर्द्धन हुने आशा व्यक्त गरे। उनले विश्वका धेरै स्थान कुनै एक विषयमा ख्याती कमाएको भन्दै फूलबारी मनोरम स्थानसँगै मूर्ति हेर्नेहरूका लागि आकर्षक थलो बन्ने बताए।

मूर्तिकला कार्यशालामा ३ महिलासहित १६ जना रहेका छन्। अध्यक्ष लुईँटेलका अनुसार बुटवलको कला, संस्कृति र इतिहास झल्किने आकृतिहरू मूर्तिकारले बनाउने छन्।

समितिका संस्थापक सदस्य पन्थीले शहरको विकाससँगै मनोरञ्जनका क्षेत्रहरूको पनि आवश्यकता पर्ने भएकाले पर्यटकीय क्षेत्रको विकास र विस्तारलाई पनि ध्यान दिनुपर्ने बताए। ‘हाम्रा वरिपरि रहेका पार्क तथा ऐतिहासिक क्षेत्रहरूलाई पहिचान गरी संरक्षणसँगै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’, उनले भने।

लुम्बिनी प्रदेशका सांसद एवं बुटवल उपमहानगरपालिकाका पूर्वनगरप्रमुख भोजप्रसाद श्रेष्ठले मूर्ति निर्माणसम्पन्न भएपछि पर्यटकीय गतिविधि फूलबारीमा अझ बढ्ने बताए। अंग्रेज सेनालाई परास्त गरेको जितगढी किल्लासँगै नजिक रहेको फूलबारीमा सेन वंशीय राजा मणिमुकुन्दको भग्नावशेष दरबार रहेकाले त्यहाँ आउने पर्यटकलाई ढुंगाका मूर्तिले लोभ्याउने बताए।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका उपाध्यक्ष माधव नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको फूलबारीमा आउने पर्यटकको संख्या बढाउन झोलुङ्गे पुल निर्माणका लागि डीपीआर तयार भएको बताए।

विदेश र विशेषगरी भारतबाट नेपाल घुम्न आउने पर्यटकहरूले झोलुङ्गे पुल मन पराउने भएकाले विदेशी पर्यटकलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माणको काम अगाडि बढाएको बताए। राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सन्दर बनाउन एक आपसमा बाझिनु भन्दा पनि विकास निर्माणका काममा मिलेर अगाडि बढ्नुपर्ने नेपालले बताए।

फागुन १, २०७८ आइतबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।