एमसिसीमा एकीकृत समाजवादीको च्याँखेे दाउ : सरकारमा नि बस्ने, सडक पनि तताउने

एमसिसीमा एकीकृत समाजवादीको च्याँखेे दाउ : सरकारमा नि बस्ने, सडक पनि तताउने

पोखरा : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा पोखरामा प्रदर्शन गरेको छ।

देशका ७७ वटै जिल्लामा एकै पटक प्रदर्शन गर्ने पार्टीको केन्द्रीय सर्कुलर अनुसार आइतबार पोखराको चिप्लेढुङगामा भेला भएर पार्टी निकट संयुक्त जन वर्गीय सङ्गठनहरूले एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन्।

अधिकार चोकबाट सुरु भएको र्यालीमा सयौँ कार्याकर्ताहरुको सहभागिता रहेको थियो। उनीहरूले ‘एमसीसी खारेज गर, एकीकृत समाजवादी जिन्दाबाद, विखण्डनकारी शक्तिहरू मुर्दावाद लगायतका नारा लगाउँदै प्लेकार्ड सहित कार्यकता सहभागी भएका थिए।

कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता राजन शर्मा पराजुलीले वीर नेपालीको इतिहासमा धावा वोल्ने अमेरिकी एमसीसी कुनै हालतमा मान्य नहुने बताए । उनले एमसीसी सहयोगका बहानमा अमेरिका गरिब देशमा छिरेर आधिपत्य जमाउन खोजेको आरोप लगाए।

त्यसै गरी कोण सभामा बोल्दै युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले एमसीसी सम्झौता खारेज गर्न माग गरे। उनले एमसीसीले गठबन्धनमा समस्या पैदा गरेको भन्दै अमेरिकाको साम्राज्यवादी नीति नेपालमा लागु नहुने बताए। उपाध्यक्ष लामाले एमसीसी सम्झौता राष्ट्रको हितमा नरहेको बताउँदै कुनै पनि हालतमा अगाडी नबढाउन नहुने बताएका थिए। 

बुटवलमा पनि प्रदर्शन एकीकृत समाजवादीले
बुटवलमा पनि एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ। सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नि प्रसाद सापकोटालाई संसद्मा एमसीसी टेबल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार बुटवलमा पनि विरोध प्रदर्शन गरेको हो। बुटवलको ट्राफिक चोकमा भएको कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बालकृष्ण चापागाईँले एमसिसि राष्ट्रको हितमा नभएको बताए। कार्यक्रममा जिल्ला अध्यक्ष राजु गुरुङ, सिद्धार्थ नगरपालिका उपाध्यक्ष उमा काफ्लेले बोल्दै राष्ट्रघाती एमसिसि सदनमा टेबल नगर्न आग्रह गरे ।

फागुन १, २०७८ आइतबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।