जनकपुरको रेल आजबाट यात्रुबिनै दैनिक एक पटक सञ्चालन गरिने

धनुषाः जनकपुर-जयनगर रेल आजबाट दैनिक एक पटक सञ्चालनमा आउने भएको छ। नेपाल सरकारले भारतबाट खरिद गरेको रेल नेपाल आएको करिब १५ महिनापछि सञ्चालन हुन लागेको हो।
नेपाल रेल्वे कम्पनीले आजबाट नियमित रेल सञ्चालन हुने जनाएको छ। जयनगर–विजलपुर–बर्दिबाससम्मको ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटरमा रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए।
तर रेल यात्रुबिनै सञ्चालन हुनेछ। महाप्रबन्धक झा भन्छन्, “आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ, तर तत्काल यात्रुबिनाको ड्राई रन मात्र हुन्छ।”
उनका अनुसार केही दिनभित्रै नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रु राखेर दैनिक तीन पटक सेवा सञ्चालन हुनेछ।
रेल सञ्चालनका लागि भारतीय रेल कम्पनी केआरसीएलसँग जीटुजी सम्झौता भएर चालक र प्राविधिकको व्यवस्था भएको र बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिइसकेको महाप्रबन्धक झाले बताए।
फागुन १, २०७८ आइतबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।