महाअभियोगको काउन्टरको तयारीमा एमाले, सांसदहरूलाई काठमाडौं बोलायो

काठमाडौं: सत्ताधारी दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले काउन्टरको तयारीमा लागेको छ।
राणाविरुद्धको महाअभियोगको काउन्टरमा उसले संसद् विघटन बदरको फैसला गर्ने चार न्यायाधीश विरुद्ध महाअभियोगको तयारी गरेको छ।
एमालेले न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, मिरा खड्का र दीपककुमार कार्कीविरुद्ध महाअभियोगको तयारी गरेको हो। राणा निलम्बनमा परेपछि कार्की कायममुकायम प्रधानन्यायाधीश भइसकेका छन्।
हठात् महाअभियोग दर्तापछि एमालेले यसबारे छलफल गर्न आफ्ना सांसदहरूलाई काठमाडौं बोलाएको छ। उसले संसदीय दलको बैठक समेत राखेको छ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सुइँको पनि नदिएर छापामार शैलीमा गम्भीर कुरा गरेको बताए। उनले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग दर्ता पछि एमालेले सबै सांसदहरूलाई काठमाडौँ बोलाएको जानकारी दिए।
‘उहाँहरूको बुतामामात्र महाअभियोग पास हुने होइन होला, उहाँहरूले के गर्न खोज्नुभएको हो ? किन यस्तो गर्नुभयो ? हामीले छलफल गर्नुपर्यो, त्यसैले हाम्रा सबै सांसद र नेताहरूलाई बेलुकासम्म काठमाडौं आउन भनेका छौँ,’ नेम्वाङले भने।
एमालेले स्थानीय निर्वाचनको लागि छलफलको लागि सातै प्रदेशको लागि छलफलको कार्यक्रम तय गरेको थियो। सो कार्यक्रमको बारेमा आज ब्रिफिङ गरेर नेताहरू काठमाडौँ फर्कनेछन्। एमालेले भोलिको लागि संसदीय दलको बैठक राखेको छ।
फागुन १, २०७८ आइतबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।