छापामार शैलीमा राणा विरुद्ध महाअभियोग

छापामार शैलीमा राणा विरुद्ध महाअभियोग

काठमाडौँ : छापामार शैलीमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरे।

नेपाल बार एसोसिएसन तीन महिनादेखि राणा विरुद्धमा आन्दोलित छ। कानुन व्यवसायीसँगै सर्वोच्चका न्यायाधीशहरू समेत राणाको विपक्षमा रहे पनि पछिल्लो समय राणाविरुद्धको आन्दोलन सुस्त भइसकेको थियो।

राणा भन्दा पनि एमसिसीको विवादमा राजनीति केन्द्रित भइरहेको बेला एकाएक सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आवश्यक एक चौथाइभन्दा बढी सांसदको हस्ताक्षरको साथ राणा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराए।

राणा विरुद्ध महाअभियोग दर्ता भएसँगै उनी निलम्बित भएका छन्। दीपककुमार कार्की सर्वोच्चको कायम मुकायम प्रधान न्यायाधीश भएका छन्।

यस अगाडि सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता भएको थियो। कार्की विरुद्धको महाअभियोगको विरुद्धमा परेको रिटको सुनुवाइ गर्दै राणाले 'आकाशमा कालो बादल मडारिएको ' भन्दै कार्कीलाई प्रधानन्यायाधीशको रूपमा काम गर्ने बाटो खोलेका थिए। पछि महाअभियोग त्यतिकै निष्क्रिय भयो।

राणाको हकमा भने यो सम्भव देखिन्न। सरकारमा भाग खोजेको पुष्टि भएसँगै सर्वोच्चका न्यायाधीश, पूर्व प्रधानन्यायाधीश,पूर्व न्यायाधीश उनको विपक्षमा छन्। 

फागुन १, २०७८ आइतबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।