न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश

न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आज बिहान सवा १० बजे महाभियोग प्रस्ताव दर्ता भएको छ। सङ्घीय संसद् सचिवालयमा सत्तारुढ दलका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गराएका हुन्।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार महाभियोग प्रस्तावका प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा. पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ रहेका छन्। 

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन्। 

महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, मन्त्रिपरिषद्मा भाग खोजेको, व्यक्तिगत स्वार्थमा लागेको जस्ता आरोप लगाइएको छ।

महाभियोग प्रस्ताव दर्ता भएकाले प्रधानन्यायाधीश राणा अब स्वतः निलम्बनमा पर्नेछन्। उनको स्थानमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्। 

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने महाभियोग प्रस्तावबारे पार्टीलाई जानकारी नभएको जनाएको छ। 

फागुन १, २०७८ आइतबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।