देवेन्द्र पौडेलले प्रचण्डलाई 'चिट' दिएर सम्झाए तीन कुरा

काठमाडौंः २७औं जनयुद्ध दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरिरहेका थिए। २० मिनेट जति सम्बोधन गरेपछि प्रचण्डले मन्तव्य टुङ्याउन लागे।
उनले माओवादीबाट विभाजित पार्टीहरू र समसामयिक विषयमा माओवादीमाथि लागेको आरोप पखाल्न बिर्सिए। कार्यक्रम सञ्चालन गरिरहेका थिए, पार्टी कार्यालय मुख्य सचिव श्रीराम ढकालले।
शिक्षामन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेलले ढकालमार्फत कागजको टुक्रोमा केही कुरा लेखेर प्रचण्डलाई दिए। मन्तव्य टुङ्याउन लागेका प्रचण्डले १० मिनेट थप बोले। पौडेलको चिट हात परेपछि प्रचण्डले भने, 'जनयुद्धमा ठूला-ठूला नरसंहार भोग्यौँ, बलात्कार, हिंसा देख्यौँ। नेतृत्त्वको टाउको काट्ने, झोलामा ल्याउने कुरा पनि देख्यौँ। अहिले पनि नेतृत्त्वलाई के गरी असफल पार्न सकिन्छ भनेर लागिपरेका छन्। जनयुद्ध सुरु गर्दा असफल बनाउने प्रयास भएको थियो।'
शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको थियो। संसद् बैठक १० दिन पछि सार्न प्रचण्डले सभामुखलाई दबाब दिएको दावीहरू आएका थिए।
'सभामुखले प्रचण्डको आदेशमा १० दिन संसद् बैठक सारियो भन्ने कुरा आयो। प्रधानमन्त्रीले कोरोनाको कारणले सार्ने प्रस्ताव गर्नुभयो, मैले हुन्छ भनेँ। प्रधानमन्त्रीज्यूले स्पष्टसँग जनतालाई भनिदिनुस् भन्नुभयो। के गरी प्रचण्डलाई सिध्याउन सकिन्छ भनेर लागिपरेका छन्', प्रचण्डले भने।
त्यसपछि प्रचण्डले नेता पौडेलले दिएको चिट हेर्दै पूर्वमाओवादीहरूलाई सम्झिए। उनले माओवादी एकताको आवश्यकता रहेको बताए।
'माओवादी आन्दोलनमा विभाजन र एकताको अनुभव पनि माओवादी आन्दोलनले भोगेको छ। हामी सबैले आत्मसमीक्षा गरौँ। क्रान्तिकारी माओवादीहरू एकताबद्ध हुन जरुरी छ', प्रचण्डले भने।
फागुन १, २०७८ आइतबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।