सर्वोच्चले आजबाट सबैखाले सेवा दिने, बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन पुनः थाल्ने

सर्वोच्चले आजबाट सबैखाले सेवा दिने, बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन पुनः थाल्ने

काठमाडौंः कोरोना महामारीका कारण आफ्नो सेवामा कटौती गरेको सर्वोच्च अदालतले आजबाट सबैखाले सेवा दिने भएको छ। अदालतको गत बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आजबाट सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसअघि गत माघ ५ गते अदालतले आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो।

सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ भएको थियो।

यस्तै आजैबाट नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलन पुनः थाल्ने जनाएको छ। आजबाट बारले भौतिकरूपमै उपस्थित भएर आन्दोलनलाई निरन्तरता दिने भएको हो।

पछिल्लो एक सय सात दिन यता न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणको लागि तथा न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदन कार्यान्वयनको लागि र प्रधानन्यायाधीश राणाको राजीनामा लागि बारले आन्दोलन गर्दै आएको जनाएको छ।

फागुन १, २०७८ आइतबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।