पृथ्वीनारायण शाहको युद्धको रूपमा जनयुद्ध स्थापित: प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पृथ्वीनारायण शाहको युद्धकै रूपमा जनयुद्ध पनि स्थापित भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'जनयुद्ध दिवस मनाउँदा राजनीतिमा नयाँपन, अवसर र चुनौती आउँछ। नेपालको इतिहासमा पृथ्वीनारायण शाहले गरेको युद्धको रूपमा मुलुकलाई नयाँ मोडमा लैजान जनयुद्ध स्थपित भयो', उनले भने।
उनले जनयुद्धकै कारण सबैको प्रतिनिधित्व हुने एकताको आधार तयार भएको पनि बताए। जनयुद्धले सामन्ती युगको अन्त्य र आजको गणतन्त्रको युगमा नयाँ राष्ट्रिय एकता कायम गरेको उनको दावी छ। उनले भने, 'यो कुरा एउटा तप्कालाई सुरुदेखि मन परेको थिएन। शक्तिको आडमा दमन गर्ने स्मरण गर्दा आज गम्भीर हुन जरुरी छ। लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको छ।
प्राप्त अधिकारको रक्षा र राष्ट्रिय स्वाधीनताको लागि संकल्प लिने आज उपयुक्त दिन हो।'
उनले गठबन्धन भत्काउने र चुनाव बिथोल्ने प्रयास समेत भइरहेको बताए। यस्तै एमसीसीप्रति लक्षित गर्दै उनले कुनै परियोजनाका आधारमा गठबन्धन भत्काउन प्रयास आफ्नै धरातल भत्काउने प्रयास हुने पन बताए।
'लेनदेनको आधारमा गठबन्धन बनेको होइन। राजनीति र सैद्धान्तिक मान्यतामा बनेको गठबन्धन सोही मान्यताका आधारमा अगाडि बढाउनु पर्छ। कुनै परियोजनाको आधारमा गठबन्धन भत्काउने प्रयास हुन्छ भने, हामीले हाम्रो धरातल भत्काउने प्रयास हुनेछ', उनले भने।
उनले मधेस प्रदेशले जनयुद्ध दिवस मनाउने निर्णय गरेको जनाउँदै सबै प्रदेश सरकार र केन्द्र सरकारले पनि जनयुद्ध दिवस मनाउनु पर्ने माग गरेका छन्।
यस्तै उनले संसद् बैठक आफ्नो कारण नभई प्रधानमन्त्रीको कारण बस्न नसकेको बताए। 'सभामुखले प्रचण्डको आदेशमा संसद् बैठक सारे भन्ने कुरा आयो। प्रधानमन्त्रीले कोरोनाको कारण सार्ने प्रस्ताव गर्नुभयो, मैले हुन्छ भनेँ। के गरी प्रचण्डलाई सिध्याउन सकिन्छ भनेर लागिपरेका छन्। कमजोर बनाउने बदनाम गराउने प्रयासलाई पराजित गरेर समाजवादको यात्रामा सफल हुनेछौँ', प्रचण्डले भने।
उनले सम्बोधनका क्रममा सबै माओवादीहरू एकताबद्ध हुन पनि आग्रह गरे।
फागुन १, २०७८ आइतबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।