समाज परिवर्तनको इतिहासमा जनयुद्ध 'मुक्तियुद्ध'का रूपमा स्थापित भइसकेको छ: प्रचण्ड

समाज परिवर्तनको इतिहासमा जनयुद्ध 'मुक्तियुद्ध'का रूपमा स्थापित भइसकेको छ: प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली समाज परिवर्तनको इतिहासमा जनयुद्ध 'मुक्तियुद्ध'को रूपमा स्थापित भएको बताएका छन्। आज २७औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

यस्तै संविधान सभामार्फत नयाँ संविधान निर्माण हुनु र देश सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीमा जानु साथै धर्मनिरपेक्षता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान रहेको सन्देशमा बताइएको छ। 

सन्देशमा भनिएको छ- “परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्त्व र औचित्य रहन्छ। नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको छ। नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो। संविधान सभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो।”

प्रचण्डले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन्। उनले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन आह्वान गरेका हुन्।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्त्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको बताउँदै उनले एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका छन्।

फागुन १, २०७८ आइतबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।