राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ मा

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ मा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आउँदो फागुन ११ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट र उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने राप्रपा नेता सुन्दर पाण्डेले बताए।

जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ। पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको छ।

राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा अघि बढाउने यसअघि नै निर्णय गरिसकेकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने छ। 

पार्टीले राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा समान विचार भएका सङ्गठनसँग एकता तथा सहकार्यका लागि वार्तालाई निरन्तरता दिएको छ।

माघ २९, २०७८ शनिबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।