गृहमन्त्री खाँणसँग विप्लव नेकपाको छलफल, बन्यो सहमति कार्यान्वयनको टाइमलाइन

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ।
गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए।
२०७७ फागुन २० गते तत्कालीन सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए। छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका पोखरेलले बताए।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण छलफलमा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।
नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनाइएको जानकारी दिए। ‘आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ। हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ,’उनले भने,‘केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन्। आशा छ छिटै निष्कर्ष निस्केला।’
माघ २९, २०७८ शनिबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।