नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापित

काठमाडौंः नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र टिमोर-लेस्टेका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्।
दुवैले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ।
टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो। १३ लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रूपमा प्रवेश पाएको हो।
योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ।
माघ २९, २०७८ शनिबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।