एमसिसीबारे दोहोरो खेल खेल्दा अप्ठ्यारोमा प्रचण्ड,पार्टी बैठक समेत राख्न सकेनन्

एमसिसीबारे दोहोरो खेल खेल्दा अप्ठ्यारोमा प्रचण्ड,पार्टी बैठक समेत राख्न सकेनन्

काठमाडौँ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण माओवादी केन्द्रको २८ र २९ गते तय गरिएको केन्द्रीय समितिको बैठक अनिश्चित कालको लागि स्थगित भयो।

बैठक स्थगित सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले कोरोना सङ्क्रमण नटरिसकेको र काठमाडौँ जिल्ला प्रशासनले २५ जना भन्दा धेरै भेला नहुन जारी गरेको आदेश रहेको बताए।

औपचारिक बहाना प्रशासनको आदेश र कोरोना भए पनि माओवादी भित्र पदीय बाँडफाँड नमिल्नु समेत गौण कारण थियो, मुख्य कारण थियो एमसिसी।

एमसिसीबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो नीति लिएपछि पार्टी र उनी आफै अप्ठेरोमा छन्। त्यसको असर पार्टीमा समेत देखियो।

प्रचण्डले एकातिर एमसिसी संशोधन गर्नुपर्छ भन्ने अर्कोतिर पारित गर्न लिखित पत्र पठाएको खुलेसँगै माओवादी नै अप्ठेरोमा छ अहिले।

एमसिसीबारे विवाद बढिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर सांसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाएको खुलेको थियो। दुवै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पत्र पठाएका थिए। एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी सांसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिबद्धता जनाउँदै चार-पाँच महिनाको समय मागेका थिए। पत्र सार्वजनिक भएसँगै प्रचण्डले एमसिसीबारे भ्रम फैलाएको देखियो। त्यसले पार्टीको बैठक समेत रोकियो।

प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन भन्ने र अर्कातिर पारित गर्ने प्रतिविद्धतासहित एमसिसीलाई पत्र पठाउँदा पार्टीलाई समेत अप्ठेरो पर्ने अवस्था आएको माओवादी नेताहरूले बताउन थालेका छन्।

प्रचण्ड भने पार्टीलाई घेराबन्दीमा पारेर सिद्ध्याउन लागेको पुरानै दाबी गर्न थालेका छन्। यसले पनि उनी कुन तहको सकसमा छन् भन्ने देखिन्छ नै।

‘एक त एमसिसीको सम्बन्धमा अन्य राजनीतिक दलहरूसँग घनिभूत छलफल गर्नुपर्ने भएको र काठमाडौँ प्रशासनको २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय यथावत् छ, हामी जिम्मेवार राजनीतिक दल भयौँ त्यसैले बैठक स्थगित गरेका हौँ,’ बैठक स्थगित बारे केन्द्रीय सदस्य हितबहादुर तामाङले दाबी गरे।

तयारी नपुगेको औपचारिक भए पनि केन्द्रीय समिति थप गर्ने, एमसिसीले राजनीति कसरी जान्छ, स्थानीय निर्वाचनमा कसरी जान्छ भन्ने तयारी नपुगेर केन्द्रीय समिति बैठक स्थगित गरिएको उनको मत छ।

‘कोरोना पनि हो र एमसिसी पनि एउटा कोरोना जस्तै भइहाल्यो यो सबैले होला,' अर्का नेता राम कार्कीले भने।

माओवादी नेता तामाङ भने प्रचण्डको बचाउमा देखिए। पत्र पठाए पनि पास गर्छु नभनेको उनको दाबी छ।

‘पत्रमा पास गर्ने भनेर लेख्नुभएको छैन। राष्ट्रिय सहमति गरेर पास गछौं भन्ने हो। सहमतिको लागि छलफल र समय आवश्यक पर्छ,' उनले भने। एमसिसीको लागि समय माग गरिएको उनको दाबी छ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अधिकार नै कुण्ठित हुने गरी शक्ति राष्ट्रले बारम्बार छिटो गर भनेर प्रेसर दिँदा अप्ठ्यारो अवस्था आएको उनको मत छ।

'यदि यो पारित गरेनौ भने नेपालसँगको सम्बन्धमा पुनर्विचार गछौं भन्ने  खालको कुराहरू आइरहेका छ । यसले हाम्रो राष्ट्रियता कुन अवस्थामा रहेछ भन्ने कुरा प्रस्ट हुन्छ, यसबाट आरामसँग बस्न सकिँदैन’ उनले भने।

आकाश खसे पनि जमिन भासिए पनि यथास्थितिमा हाम्रो पार्टीले यथास्थितिमा पास गर्ने पक्षमा माओवादी नरहेको उनले स्पष्ट पारे।

प्रचण्डको दोहोरो खेल
एक महिनाअघि सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले परिमार्जन नगरीकन एमसिसी पारित गर्न नहुने निर्णय गरेको थियो।

अध्यक्ष प्रचण्डले पनि एमसिसी परिमार्जन नगरी पारित गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन्। तर अर्कोतर्फ एमसिसीका अधिकारीलाई यथास्थितिमै पारित गर्ने लिखित पत्र पठाएका छन्।

माओवादी नेता कार्की विकल्पमा संसदले सङ्कल्प प्रस्ताव पारित गरेर एमसिसी पारित गर्न सकिने बताउँछन्।

माघ २८, २०७८ शुक्रबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।